आमाले छोराछोरी जन्माउँछिन् तर के तपाइँले कहिल्यै कुनै महिलाले नातिनातिनी जन्माएको थाहा पाउनुभएको छ ? सायद यस्तो हुनै नसक्ने कुरा हो भन्ने तपाइँलाई लाग्न सक्छ ।
जुन महिलाले सन्तान जन्माएपछि आखिर त्यो उनको छोरा वा छोरी मध्ये एक हुन्छ । तर सधै यस्तो हुँदो रहेनछ । त्यसैले होला अमेरिकामा हालै एक महिलाले छोरो नभएर नाती जन्माएकी छिन् । यस्तो कसरी हुनसक्छ ? भन्ने स्वभाविक जिज्ञासा तपाइँको हुनसक्छ । तर म्यासाच्युसेट्सकी ४९ वर्षीया लिन्डा सिरोइसले खसोखास नाती नै जन्माएकी छिन् । हुनत उनी आफैले जन्माएको बच्चा उनको छोरो नै हुनुपर्ने हो, तर उनले आफ्नी छोरीका लागि उक्त बच्चा जन्माइदिएकी भएकीले त्यो उनको छोरो नभएर नाती भएको हो ।
वास्तवमा आफ्नी छोरी एन्जेल हबर्ट मुटुरोगी भएकी र उनी मुटुको रोगका कारण बच्चा जन्माउनु खतरनाक हुने भएकाले छोरीको आमा बन्ने सपना पूरा गरिदिन लिन्डाले छोरीको सन्तानको रुपमा आफैले गर्भाधारण गरी भाडाकी आमा बनिदिएकी हुन् । अगष्ट १३ मा उनले सल्यक्रियाबाट बच्चा जन्माइन्, उसको नाम म्याडेन हबर्ट राखिएको छ । अस्पतालमा छोरीकै अगाडि लिन्डाले नाती जन्माइदिइन् । सासुले आफ्नो लागि छोरा जन्माइदिने कुरामा एन्जेलका लोग्ने ब्रेइन पनि सहमत भएपछि यस्तो संयोग जुरेको हो ।
लिन्डाले टेष्टट्यु प्रविधिबाट गर्भाधारण गरेकी थिइन् । छोरी एन्जेलको डिम्ब र ज्वाइँ ब्रेइनको शुक्रकिटबीच टेष्टट्युबमै निशेषच गराएर भ्रुणलाई लिन्डाको पाठेघरमा राखिएको थियो । त्यसैले उक्त बच्चा वास्तवमै लिन्डाको थिएन अर्थात् उनले त केवल भ्रुण हुर्किनका लागि पाठेघर मात्र दिएकी थिइन् । नाती जन्माउन पाएकोमा लिन्डा निकै खुसी थिइन् र उनी भन्थिन्, ‘यो बच्चा पूरै उनीहरुकै छोरो हो, मेरो पाठेघर त केवल भाडामा लिइएको कोठाजस्तै थियो ।’
ओहो कस्तो अचम्म । महिलाले छोरो मात्र होइन साँच्चीकै नाती पनि आफै जन्माउँदा रहेछन् ।